काठमाडौं,१६ असार । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयता थप सुदृढ बनाउन सरकार, राजनीतिक दल र सबै सांसदहरूको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
संसद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वि.सं. २०१६ साल असार १६ गते जननिर्वाचित संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनले नेपाली जनताको लोकतान्त्रिक संघर्ष, जनप्रतिनिधिमूलक शासन प्रणाली र संविधानवादप्रतिको अटल प्रतिबद्धताको स्मरण गराउने बताए।
उनका अनुसार संसद लोकतन्त्रको मेरुदण्ड भएकाले जनताको सार्वभौम इच्छालाई कानुन, नीति तथा राज्य सञ्चालनमार्फत कार्यान्वयन गर्ने सर्वोच्च लोकतान्त्रिक संस्थाको रूपमा यसको गरिमा कायम राख्नु सबैको दायित्व हो। उनले प्रधानमन्त्री, सभामुख, मन्त्री तथा सबै सांसदहरूले संसदप्रतिको जनविश्वास अझ बलियो बनाउन जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
आङदेम्बेले संसद दिवसले लोकतन्त्रको संस्थागत विकास, जनसरोकारका विषयलाई संसदमार्फत प्रभावकारी रूपमा सम्बोधन गर्ने दायित्वलाई पुनः स्मरण गराउने अवसर प्रदान गरेको उल्लेख गरे।
उनले नेपाली कांग्रेस लोकतन्त्र, संविधानको रक्षा, विधिको शासन, मानवअधिकार तथा समावेशी र उत्तरदायी संसदीय अभ्यासप्रति सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्दै संसदलाई लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप अझ प्रभावकारी र सुदृढ बनाउन संसद दिवसले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे।




