काठमाडौं, १६ असार । विश्वभर तीन अर्बभन्दा बढी प्रयोगकर्ता रहेको ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ ‘युजरनेम’ फिचर सार्वजनिक गर्ने घोषणा गरेको छ। यो सुविधासँगै अब प्रयोगकर्ताले आफ्नो फोन नम्बर साझा नगरी पनि अरूसँग ह्वाट्सएपमार्फत सम्पर्क गर्न सक्नेछन्।
मेटा प्लेटफर्म्सको स्वामित्वमा रहेको ह्वाट्सएपले सोमबारदेखि प्रयोगकर्तालाई आफ्नै युनिक युजरनेम रिजर्भ गर्ने सुविधा उपलब्ध गराउन थालेको जनाएको छ। कम्पनीका अनुसार यो फिचर यसै वर्षको अन्त्यसम्म सबै प्रयोगकर्ताका लागि क्रमिक रूपमा उपलब्ध हुनेछ।
ह्वाट्सएपकी हेड अफ प्रोडक्ट एलिस न्यूटन–रेक्सका अनुसार नयाँ व्यक्तिसँग कुराकानी सुरु गर्दा वा कुनै ग्रुपमा सहभागी हुँदा आफ्नो फोन नम्बर सबैलाई देखाउनुपर्ने बाध्यता अब हट्नेछ। यसले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत जानकारीमाथि थप नियन्त्रण दिने कम्पनीको विश्वास छ।
कम्पनीले यो सुविधा सामाजिक सञ्जालको जस्तो सार्वजनिक प्रोफाइल प्रणालीका रूपमा नभई गोपनीयता केन्द्रित सेवाका रूपमा विकास गरेको जनाएको छ। ह्वाट्सएपमा कुनै सार्वजनिक युजरनेम डायरेक्टरी हुने छैन, त्यसैले कसैसँग सम्पर्क गर्न उसको ठ्याक्कै युजरनेम थाहा हुनुपर्नेछ।
सुरक्षा थप मजबुत
नक्कली पहिचान र अनलाइन ठगी नियन्त्रण गर्न फेसबुक र इन्स्टाग्राममा प्रयोग भइरहेका युजरनेम सम्बन्धित प्रयोगकर्ताकै लागि सुरक्षित राखिने ह्वाट्सएपले जनाएको छ। त्यस्तै, सार्वजनिक व्यक्तित्व, सरकारी निकाय तथा चर्चित संस्थाका केही युजरनेम पनि दुरुपयोग हुन नदिन आरक्षित गरिनेछन्।
नयाँ फिचरका प्रमुख विशेषता
फोन नम्बरको सट्टा युजरनेममार्फत खोज्न र सन्देश पठाउन सकिने।
प्रत्येक युजरनेमसँग वैकल्पिक चार अङ्कको सुरक्षा कोड रहने।
सुरक्षा कोड सक्रिय गरेपछि पहिलो पटक सम्पर्क गर्ने व्यक्तिलाई युजरनेमसँगै उक्त कोड पनि आवश्यक पर्ने।
सार्वजनिक युजरनेम सूची वा खोज प्रणाली नहुने।
युजरनेममार्फत पहिलो पटक सम्पर्क गर्दा प्राप्तकर्ताले तपाईंको फोन नम्बर देख्ने छैन।
यी अवस्थामा युजरनेम आवश्यक पर्दैन
यदि कसैले तपाईंको फोन नम्बर पहिल्यै सेभ गरेको छ, तपाईंसँग पहिले नै च्याट गरिसकेको छ, एउटै ग्रुपमा सदस्य छ, तपाईंको क्यूआर कोड स्क्यान गरिसकेको छ वा तपाईंले पहिले नै उसलाई सन्देश पठाइसक्नुभएको छ भने युजरनेम वा सुरक्षा कोड आवश्यक पर्दैन।
कसरी बनाउने युजरनेम?
युजरनेम प्रयोग गर्न ह्वाट्सएपको नवीनतम संस्करण आवश्यक पर्नेछ। त्यसपछि Settings → Account → Username मा गएर युजरनेम सिर्जना गर्न सकिन्छ। सुरक्षा कोड भने ह्वाट्सएपले स्वतः उपलब्ध गराउनेछ, जसलाई आवश्यक परे परिवर्तन गर्न सकिनेछ।
कम्पनीका अनुसार युजरनेम र सुरक्षा कोड प्रयोग गर्नु पूर्ण रूपमा वैकल्पिक हुनेछ। प्रयोगकर्ताले जुनसुकै बेला यसलाई थप्न, परिवर्तन गर्न वा हटाउन सक्नेछन्। साथै, नयाँ फिचर सक्रिय गर्दा हालका च्याट वा सम्पर्क सूचीमा कुनै असर नपर्ने ह्वाट्सएपले स्पष्ट पारेको छ।




