काठमाडौं,२९ जेठ । वैदेशिक रोजगारीका नाममा अमेरिका र क्रोएशिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बस्ने दोलखा शैलुङ गाउँपालिका–२ घर भएकी ४५ वर्षीया रूकु कुमारी श्रेष्ठ र काठमाडौं टोखा नगरपालिका–६ बस्ने मोरङ उर्लाबारी–६ घर भएका ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन्।
उनीहरूले आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर पीडितबाट ३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई भक्तपुर मध्यपुर थिमि–८ बाट र शाक्यलाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको हो।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।




