काठमाडौं,०३ चैत । अफगानिस्तानले राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताको उपचारका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु भएको दाबी गरेको छ। पाकिस्तानले भने उक्त आरोप अस्वीकार गर्दै अस्पताललाई लक्षित गरी कुनै आक्रमण नगरेको जनाएको छ।
अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै राति करिब ९ बजे पाकिस्तानले दुई हजार शय्याको ‘ओमर एडिक्सन ट्रिटमेन्ट अस्पताल’मा आक्रमण गरेको बताएका छन्। उनका अनुसार आक्रमणका कारण अस्पतालको ठूलो भाग ध्वस्त भएको छ।
घटनापछि आगलागी नियन्त्रण गर्न तथा भग्नावशेषबाट घाइते र मृतकलाई निकाल्न उद्धार टोली परिचालन गरिएको बताइएको छ। स्थानीय टेलिभिजनहरूले सार्वजनिक गरेको दृश्यमा सुरक्षाकर्मीहरूले टर्चको सहायताले भग्नावशेषबाट घाइते तथा मृतकलाई बाहिर निकालिरहेको र दमकलकर्मीहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ।
अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अस्पताल र अन्य नागरिक संरचनालाई लक्षित गरी आक्रमण गरिएको भन्दै पाकिस्तानको कडा आलोचना गरेका छन्। उनले यस्तो आक्रमण मानवताविरुद्धको अपराध भएको बताएका छन्।
यद्यपि पाकिस्तानले भने अस्पतालमा आक्रमण गरेको आरोप अस्वीकार गरेको छ। पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले काबुलमा कुनै अस्पताललाई लक्षित नगरिएको स्पष्ट पारेका छन्।
पाकिस्तानको सूचना मन्त्रालयले जारी गरेको वक्तव्यमा अफगानिस्तानका विभिन्न स्थानमा गरिएको हवाई कारबाही सैन्य संरचना, प्राविधिक उपकरण भण्डारण स्थल तथा गोला–बारुद भण्डारणलाई लक्षित गरिएको दाबी गरिएको छ। साथै उक्त कारबाही अत्यन्त सावधानीपूर्वक गरिएको र नागरिक संरचनामा क्षति नपुग्ने गरी सञ्चालन गरिएको पनि मन्त्रालयले जनाएको छ।
यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानका तालिबान शासकलाई आतंकवादविरुद्धको प्रयास तीव्र बनाउन आह्वान गरेको छ। परिषद्ले सर्वसम्मतिले पारित प्रस्तावमार्फत सबै प्रकारका आतंकवादी गतिविधिको कडा निन्दा गरेको छ।
पाकिस्तानले अफगानिस्तानले पाकिस्तानी तालिबानसहित विभिन्न उग्रवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने काबुलले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ।
फेब्रुअरी अन्त्यतिरबाट दुवै देशबीचको तनाव बढ्दै गएको छ। अफगानिस्तानले पाकिस्तानले आफ्नो भूभागमा हवाई आक्रमण गरेपछि सीमापार जवाफी आक्रमण गरेको दाबी गरेको थियो। त्यसयता दुवै पक्षबीच लगातार झडप र हवाई आक्रमण भइरहेका छन्। पाकिस्तानले अफगानिस्तानसँग ‘खुला युद्ध’को अवस्था रहेको बताएको छ।

