काठमाडाै,०३ चैत । इन्धन अभाव चर्किँदै गएपछि श्रीलंका सरकारले सरकारी क्षेत्रका लागि नयाँ कार्यतालिका लागू गरेको छ। मंगलबार जारी सूचनाअनुसार मार्च १८ देखि हरेक बुधबार सरकारी कार्यालयहरू बन्द रहने निर्णय गरिएको हो।
आवश्यक सेवासम्बन्धी आयुक्त प्रभात चन्द्रकीर्थीका अनुसार यो व्यवस्था सरकारी कर्मचारीसँगै विद्यालय, विश्वविद्यालय र अदालतहरूमा पनि लागू हुनेछ। यद्यपि स्वास्थ्य सेवा, बन्दरगाह, खानेपानी आपूर्ति र भन्सारजस्ता अत्यावश्यक सेवाहरू भने नियमित सञ्चालनमै रहनेछन्।
सरकारले इन्धन खपत घटाउने उद्देश्यले यस्तो कदम चालेको बताइएको छ। साथै सरकारी कार्यालयका प्रमुखहरूलाई आवश्यकताअनुसार बाँकी चार कार्यदिनभित्र कर्मचारीलाई काममा बोलाउन सक्ने अधिकार पनि दिइएको छ।
इन्धन संकटलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्म सबै सरकारी कार्यक्रमहरू स्थगित गरिएको छ। सरकारले निजी क्षेत्रलाई पनि सम्भव भएसम्म यस्तै कार्यतालिका अपनाउन अनुरोध गरेको छ।

