रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको ज्यान गएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी नजिकका अस्पतालमा पठाइएको छ भने हराइरहेका चार जनाको खोजी कार्य जारी रहेको उच्च अधिकारीहरूले जनाएका छन्।
देशका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्ड्रो लोपेजका अनुसार लकहिड मार्टिनद्वारा निर्मित ‘हर्कुलस सी–१३०’ विमानमा कुल १२८ जना सवार थिए। तीमध्ये वायुसेनाका ११ जना, सेनाका ११५ कर्मचारी र दुई जना राष्ट्रिय प्रहरी अधिकारी रहेका थिए।
दुर्घटनास्थलमा बेपत्ता व्यक्तिहरूको खोजी तथा शव संकलन कार्य निरन्तर भइरहेको छ। रक्षामन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै पेरुसँगको सीमाक्षेत्रमा रहेको पुएर्तो लेगुइजामोबाट उड्ने क्रममा विमान दुर्घटनामा परेको बताएका छन्।
दमकल विभागका अधिकारी एडुआर्डो सान जुआन काल्लेजसका अनुसार स्थानीय सञ्चारमाध्यम ‘काराकोल’सँग कुरा गर्दै उनले विमान उडान भर्ने क्रममा धावनमार्गको अन्तिम भागतर्फ ठोक्किएको र त्यसपछि जमिनमा खस्ने क्रममा एउटा पखेटा रुखमा अड्किएको बताएका छन्।

