रौतहट,१२ चैत । भारतीय सीमासँग जोडिएको रौतहट जिल्लामा प्रहरीले भन्सार छली नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाएको छ। यस क्रममा प्रहरीले अवैध रूपमा भित्र्याइएका मोटरसाइकल र विभिन्न सामान बरामद गरेको छ।
गौर नगरपालिका–४ बसपार्क चोकस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले नियमित सवारी चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइँदै गरेको करिब ७ हजार २३० रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य खुद्रा सामान नियन्त्रणमा लिएको हो।
त्यसैगरी, जिल्लाका विभिन्न स्थानमा गरिएको विशेष निगरानी र चेकिङका क्रममा कागजातविहीन १५ वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ती मोटरसाइकलहरूको अनुमानित मूल्य करिब ११ लाख ७० हजार रुपैयाँ रहेको छ।
बरामद गरिएको खाद्यान्न र मोटरसाइकलसहित कुल ११ लाख ७७ हजार २३० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नियन्त्रणमा लिइएका सबै सामान र सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि निगरानी अझै कडा पार्ने जनाएको छ।

