पर्सा र बाराका तीन सांसदले भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिँदै

spot_img

बीरगन्ज,१२ चैत  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित तीन जना प्रतिनिधिसभा सदस्यहरूले आगामी आज हुने शपथ ग्रहण कार्यक्रममा भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद ९हरि० पन्त, पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सुशील कुमार कानु र बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित ई. अरविन्द साहले भोजपुरी भाषा रोजेका हुन् ।

पन्तको मातृभाषा नेपाली भए पनि उनी भोजपुरी बाहुल्य क्षेत्रबाट निर्वाचित भएको भन्दै कर्मभूमि, क्षेत्र र जिल्लावासीप्रति सम्मान स्वरूप भोजपुरीमा शपथ लिने निर्णयमा पुगेका छन् । “मेरो मातृभाषा भोजपुरी नभए पनि मेरो कर्मभूमिको आत्मा भोजपुरीमा बसेको छ । त्यसैले यो निर्णय लिएको हुँ,” उनले भने ।

सुशील कुमार कानुको मातृभाषा नै भोजपुरी हो । उनले भोजपुरीलाई आफ्नो व्यक्तिगत पहिचान र अस्मितासँग जोडेर तराई–मधेसको भाषालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने सानो प्रयासको रूपमा यसलाई लिएका छन् ।

ई. अरविन्द साह लामो समयदेखि भोजपुरी भाषाको उत्थान, संरक्षण र प्रवर्द्धनमा सक्रिय छन् । मातृभाषामा शपथ लिँदै उनी भाषाप्रतिको कृतज्ञता व्यक्त गर्नुका साथै सांसदको हैसियतले भोजपुरीको विकास, दस्तावेजीकरण र प्रवर्द्धनमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । यस पटकको शपथ ग्रहण कार्यक्रममा करिब ४० भन्दा बढी सांसदहरूले नेपालीबाहेक आफ्नो मातृभाषा वा रुचिको भाषामा शपथ लिने भएका छन् । भो

जपुरीसँगै नेपाल भाषा (नेवास्), मैथिली, डोटेली, थारु, तामाङ, बज्जिका, संस्कृत र बान्तवा लगायतका भाषाहरू प्रयोग हुने छन् । शपथ ग्रहण कार्यक्रम आज चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना हुन लागेको छ । कार्यक्रमलाई समावेशी र बहुभाषिक बनाउने प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ । रास्वपाका तीनै सांसदहरूको मातृभाषामा शपथ लिने निर्णयले तराई–मधेसका भाषा तथा संस्कृतिप्रति सम्मान र नेपालको बहुभाषिक पहिचानलाई संसदीय तहमा प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय