काठमाडौं,१४ चैत । नेकपा एमालेले आफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ। पार्टीले उक्त कदमविरुद्ध कानुनी रूपमा लड्ने स्पष्ट पारेको छ।
एमालेका सचिव महेश बस्नेतले कुनै ठोस कानुनी आधारबिना ओलीलाई पक्राउ गरिएको आरोप लगाउँदै यसविरुद्ध अदालतमा जाने बताएका छन्। उनले पार्टीभित्र थप छलफल गरी आगामी रणनीति तय गरिने पनि संकेत दिएका छन्।
‘जेनजी आन्दोलन’ सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो। पक्राउअघि नै ओलीले वरिष्ठ कानुनविद्हरूसँग परामर्श गरेका थिए।
पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँगको छलफलमा ओलीले आफूविरुद्धको कारबाहीलाई राजनीतिक प्रेरित कदम भन्दै कानुनी लडाइँ लड्ने बताएका थिए।
कानुनविद्हरूले आइतबार नै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको जानकारी दिएका छन्।
ओलीको पक्राउसँगै मुलुकको राजनीतिक माहोल तातेको छ भने यो प्रकरणले आगामी दिनमा कानुनी र राजनीतिक दुवै क्षेत्रमा तीव्र बहस उत्पन्न गर्ने देखिएको छ।

