बीरगन्ज,१५ चैत ।बीरगन्ज नाका हुँदै एलपी ग्यास आयातमा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो करिब डेढ महिनाको अवधिमा २ हजार १३६ वटा ग्यास बुलेट नेपाल भित्रिएको तथ्यांक सार्वजनिक भएको हो।
मध्यपूर्व क्षेत्रमा देखिएको अस्थिरताका कारण नेपालसहित विभिन्न मुलुकमा ग्यास आपूर्तिमा दबाब बढिरहेका बेला वीरगन्ज नाका ग्यास आयातको प्रमुख मार्ग बनेको देखिएको छ। भन्सार कार्यालयका अनुसार फागुन महिनामा मात्रै १ हजार ५६० बुलेट ग्यास भित्रिएको थियो भने चैत १३ गतेसम्म थप ५७६ बुलेट आयात भइसकेका छन्।
एकीकृत भन्सार जाँच चौकी व्यवस्थापनमा संलग्न अधिकारीहरूले पछिल्लो समय ग्यास आपूर्तिलाई सहज बनाउन आयात बढाइएको बताएका छन्। चालु आर्थिक वर्षको सात महिनामा यस नाका हुँदै २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड किलोभन्दा बढी एलपी ग्यास आयात भएको जनाइएको छ।
गत वर्षको सोही अवधिको तुलनामा आयातमा केही कमी देखिए पनि हालको आपूर्ति अवस्थालाई सन्तुलित राख्न निरन्तर प्रयास भइरहेको सरोकारवाला निकायको भनाइ छ।
ग्यास आपूर्तिमा सम्भावित संकट व्यवस्थापन गर्न भण्डारण, वितरण र वैकल्पिक स्रोतबारे पनि सम्बन्धित निकायले तयारी गरिरहेको बताइएको छ।




