काठमाडौं,१६ चैत । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नहुने घोषणा गरेका छन्।
प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफलका लागि बोलाए पनि साम्पाङले ‘कोठे बैठक’मा सहभागी नहुने स्पष्ट पारेका हुन्।
उनले संसद् बैठक नियमित रूपमा सञ्चालन नगरी छुट्टै बैठक बोलाउनुको औचित्यमाथि प्रश्न उठाउँदै पहिले प्रतिनिधिसभा बैठक बोलाउन माग गरेका छन्।
साम्पाङले कम्तीमा हप्तामा एकपटक संसद् बैठक बस्नुपर्ने आवश्यकता औंल्याउँदै जनताका प्रश्नबाट भाग्न नहुने बताएका छन्।
उनले आफ्ना पार्टीका सांसदहरू पनि उक्त बैठकमा सहभागी नहुने जानकारी दिँदै संसद् सञ्चालनमार्फत जनताको सवालमा जवाफ दिनुपर्ने धारणा राखेका छन्।

