काठमाडौं,१६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस फेरि विभाजनको संघारमा पुगेको संकेत देखिएको छ। विशेष महाधिवेशनपछि दुई धारमा विभाजित पार्टीभित्रको विवाद पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणसँगै थप चर्किएको हो।
पार्टीभित्रको शक्ति संघर्ष अहिले खुला टकरावमा परिणत भएको छ। विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएको गगन थापा पक्ष र देउवा समूहबीचको मतभेद गहिरिँदै गएको छ। देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामाथि कारबाही गर्ने तयारी थालेपछि विवादले नयाँ मोड लिएको छ।
लेखक पक्राउपछि कांग्रेसभित्र समानान्तर गतिविधि सुरु भएका छन्। पार्टीका दुई समूहबाट छुट्टाछुट्टै विज्ञप्ति जारी हुनुका साथै घटनाबारे फरक–फरक धारणा सार्वजनिक भएका छन्। खड्का पक्षले पक्राउको विरोधमा आन्दोलनको तयारी गरिरहेको छ भने संस्थापन पक्षले आन्तरिक समीक्षा र रणनीतिमा जोड दिएको छ।
देउवा समूहले सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा प्रतिक्रिया जनाएको छ। उनीहरूले आयोगको प्रतिवेदन पक्षपातपूर्ण रहेको आरोप लगाउँदै संवैधानिक र कानुनी रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
यता थापा–विश्वप्रकाश समूहले पार्टीभित्र अनुशासन कायम गर्न कडा कदम चाल्ने संकेत दिएको छ। कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरिएको विषयलाई अनुशासन उल्लंघन ठहर गर्दै चैत १८ गते अनुशासन समितिको बैठक बोलाइएको छ।
नेतृत्व चयन प्रक्रिया पनि विवादको केन्द्रमा छ। देउवा पक्षले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेको छ, जुन हाल विचाराधीन छ। उनीहरूले नियमित महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण हुनुपर्ने अडान दोहोर्याउँदै आएका छन्।
पछिल्लो घटनाक्रमले कांग्रेसभित्रको एकता कमजोर बन्दै गएको स्पष्ट संकेत दिएको छ। आन्तरिक विवाद समाधान नभए पार्टी औपचारिक विभाजनतर्फ उन्मुख हुन सक्ने राजनीतिक विश्लेषकहरूको आकलन छ।

