काठमाडाै,२० चैत । पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो वृद्धि गर्दै पेट्रोलको मूल्य ४३ प्रतिशत र हाई स्पिड डिजेलको मूल्य ५५ प्रतिशतले बढाएको छ।
सरकारले यो मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि र हालको क्षेत्रीय तनावसँग जोडिएको जनाएको छ। पेट्रोलियम मन्त्रीका अनुसार सरकारसँग सीमित आर्थिक स्रोत भएकाले तत्काल राहत दिन कठिन अवस्था रहेको छ।
पाकिस्तान आयातित तेलमा अत्यधिक निर्भर देश हो र अधिकांश इन्धन स्ट्रेट अफ हर्मुजमार्फत आपूर्ति हुन्छ। हालको इरानसँग सम्बन्धित तनावका कारण आपूर्ति मार्ग प्रभावित भएको दाबीसमेत गरिएको छ। यद्यपि सरकारले केही पाकिस्तानी झन्डा बोकेका जहाजमार्फत वैकल्पिक सुरक्षित ढुवानी व्यवस्था मिलाइएको जनाएको छ।
यो हालैको दोस्रो चरणको मूल्यवृद्धि हो। पछिल्लो समायोजनपछि पेट्रोलको मूल्य युद्ध सुरु हुनुअघिको तुलनामा ७७ प्रतिशत र डिजेलको मूल्य ८७ प्रतिशतसम्म बढिसकेको छ।
अर्थमन्त्री मोहम्मद औरंगजेबले सरकारको वित्तीय अवस्था कमजोर भएकाले व्यापक राहत दिन नसकिने बताउँदै सीमित मात्रामा मात्रै सहुलियत उपलब्ध गराइने र इन्धन मूल्य नियमित रूपमा पुनरावलोकन गरिने जानकारी दिएका छन्।

