आर्थिक वर्ष २०८३/८४ का लागि बजेट लेखन समिति गठन

spot_img

काठमाडौं,२० चैत । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि ‘बजेट लेखन समिति’ गठन गरेको छ।

अर्थ मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठन गरिएको यस समितिले बजेट वक्तव्यको मस्यौदा तयार पार्ने र बजेटका सिद्धान्त तथा प्राथमिकता निर्धारण गर्ने जिम्मेवारी पाएको छ।

समितिले संघीय संसद्मा प्रस्तुत गरिने बजेट वक्तव्य, विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता तयार गर्नुका साथै विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकता निर्धारणमा समेत सहजीकरण गर्नेछ। साथै, सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझावसमेत दिने कार्यादेश यसलाई दिइएको छ।

समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरू सदस्यका रूपमा रहेका छन्। जसमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन्।

यो समितिले मुलुकको आर्थिक अवस्था र विकास प्राथमिकताका आधारमा आगामी बजेटको समग्र खाका तयार गर्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय