भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीको चेतावनी

spot_img

काठमाडौं,२० चैत । सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न माग गर्दै यातायात व्यवसायीहरूले सरकारलाई दबाब दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडादर समायोजन गर्न सरकारसँग आग्रह गरेको हो।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा हवाई इन्धनको मूल्य बढेपछि तुरुन्त हवाई भाडा समायोजन हुने तर सार्वजनिक यातायातको हकमा ढिलाइ हुनु विभेदकारी भएको उल्लेख गरिएको छ।

यातायात व्यवस्था विभागले चैत ५ गते नै यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत, पहाडी मालवाहकमा १४.२९ प्रतिशत र तराई मालवाहकमा ८.८१ प्रतिशत भाडा वृद्धि गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरिसकेको भए पनि अझै कार्यान्वयन नभएको व्यवसायीहरूको भनाइ छ।

व्यवसायीहरूले इन्धनको मूल्यवृद्धिका कारण सेवा सञ्चालनमा दैनिक ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको दाबी गरेका छन्। उनीहरूले संघीय तथा प्रदेश सरकारलाई वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न माग गरेका छन्।

माग सम्बोधन नभएमा व्यवसायीहरूले आफैं भाडा निर्धारण गरी असुल गर्ने वा सेवा सञ्चालनमा कठिनाइ हुने अवस्था आउन सक्ने चेतावनी समेत दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय