काठमाडौं,२१ चैत । नेपाली कांग्रेस ले १५औं महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका अघि बढाइएको हो।
कार्यतालिकाअनुसार आजदेखि महिनाभर केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइनेछ भने देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइने छन्। यसैक्रममा प्रतिनिधिहरूलाई आज सानेपामा ‘ओरियन्टेसन’ कार्यक्रममार्फत प्रशिक्षण दिइँदैछ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार ओरियन्टेसनपछि प्रतिनिधिहरूको नाम सार्वजनिक गरिनेछ। साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटाइने व्यवस्था गरिएको छ।
पार्टीले १ वैशाखदेखि मसान्तसम्म देशभर क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान सञ्चालन गर्ने योजना बनाएको छ। वडाबाट संकलित सदस्यता १५ जेठभित्र जिल्ला र निर्वाचन क्षेत्रमा पठाइनेछ भने २५ जेठसम्म केन्द्रमा प्रविष्टि गरिनेछ।
केन्द्रले १५ असारभित्र सदस्यताको अन्तिम टुंगो लगाउने र असार मसान्तसम्म अद्यावधिक सदस्यहरूको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने कार्यतालिका तय गरिएको छ।

