गुणस्तरहीन उखु खरिद दबाबपछि उद्योग बन्द गर्ने चेतावनी

spot_img

सर्लाही,२१ चैत । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित श्री महालक्ष्मी चिनी उद्योग ले गुणस्तरहीन उखु जबर्जस्ती खरिद गराउन दबाब बढेपछि सिजन सकिनुअघि नै उद्योग बन्द गर्न सकिने चेतावनी दिएको छ।

उद्योगका अनुसार केही किसानले सुकेको, वासी तथा सफा नगरी काटिएको उखु ल्याएर बलपूर्वक खरिद गराउन खोज्दा उत्पादनमा गम्भीर असर परेको छ। यस्तो उखुले ‘सुगर रिकवरी’ घटाउँदा उद्योग दैनिक ३० देखि ३५ लाख रुपैयाँसम्म घाटामा गएको बताइएको छ।

हाल दैनिक १६ देखि १८ हजार क्विन्टल उखु क्रसिङ हुँदै आए पनि करिब ८० प्रतिशतभन्दा बढी उखु गुणस्तरहीन रहेको उद्योगको दाबी छ। सरकारी मापदण्डअनुसार ९ प्रतिशत हुनुपर्ने सुगर रिकवरी घटेर ३–४ प्रतिशतमा सीमित भएको जनाइएको छ।

उद्योगका उखु महाप्रबन्धक राजेश सिंहल ले यस्तो अवस्थामा उद्योग सञ्चालन गर्न कठिन भएको बताएका छन्। उनले किसानलाई ताजा र सफा उखु मात्र ल्याउन आग्रह गरेका छन्।

यता स्थानीय तहले भने उद्योगले आफ्नै क्षेत्रका किसानको उखु प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि जनाएको छ। मेयर देवेन्द्र कुमार यादव का अनुसार अब सर्वेक्षण गरी वास्तविक किसानलाई पुर्जी वितरण गरेर मात्र उखु खरिद गर्ने व्यवस्था मिलाइनेछ।

किसानहरूका अनुसार अन्यत्रबाट फिर्ता गरिएको तथा पुरानो उखु ल्याएर तौल गराउने प्रयासले समस्या बढेको हो। यसले ताजा उखु ल्याउने किसानलाई घण्टौँ लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ।

उद्योगले हालको अवस्था नबदलिएको खण्डमा सिजन समाप्त हुनुअघि नै सञ्चालन बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय