पुरानो कार्यशैली तोडेर कांग्रेस पुनर्निर्माण गर्नुपर्छ : नैनसिंह महर

spot_img

काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रका पुराना मान्यता र कार्यशैलीलाई त्याग्दै पुनर्निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

न्युज एजेन्सीसँगको कुराकानीमा उनले समयअनुसार सोच र रणनीति परिवर्तन नगर्दा पार्टीले निर्वाचनमा पराजय बेहोर्नुपरेको बताए । “हामीले २०४८ सालको मानसिकता बोकेर २०८२ सालको चुनाव लड्ने गल्ती गर्‍यौं, जहाँ न प्रश्नपत्र मिल्यो, न उत्तर,” उनले टिप्पणी गरे ।

उनका अनुसार पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको हारको प्रमुख कारण बदलिँदो समाज र समयअनुसार आफूलाई ढाल्न नसक्नु हो । समाज चेतना र प्रविधिको हिसाबले धेरै अघि बढिसकेको भए पनि पार्टीको नेतृत्व र कार्यशैली अझै पुरानै ढर्रामा अड्किएको उनले बताए ।

महरले परम्परागत प्रचार शैलीबाट बाहिर ननिस्किँदा पार्टीले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै बदलिएको ‘सामाजिक संरचना’ बुझ्न नसक्नु नै मुख्य कमजोरी भएको धारणा राखे ।

बीपी कोइरालाको विचारलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै उनले केवल नाम जपेर मात्र नपुग्ने बताए । आजको डिजिटल पुस्तासँग मेल खाने नयाँ सोच र योजना विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

पार्टीभित्रको गुटबन्दीलाई उनले ‘फेभिकोल एकता’ को संज्ञा दिँदै यस्तो कृत्रिम एकताले पार्टीलाई दीर्घकालीन रूपमा कमजोर बनाउने चेतावनी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय