राजविराज,२१ चैत । सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी का प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेकामध्ये दुई जना चोरी, दुई जना लागूऔषध र एक जना अभद्र व्यवहार मुद्दाका प्रतिवादी रहेका छन्।
चोरी मुद्दामा विष्णुपुर गाउँपालिका–५ का १९ वर्षीय मो. तसमिल र २९ वर्षीय अनिल यादव पक्राउ परेका छन्। उनीहरू राजविराज–१६ बेरियास्थित निर्माणाधीन घरबाट जेनेरेटर चोरी गर्ने क्रममा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। घटनास्थलबाट १५ हर्सपावरको जेनेरेटर पनि बरामद गरिएको छ।
लागूऔषध मुद्दामा छिन्नमस्ता गाउँपालिका–३ का ३१ वर्षीय सुरेन्द्रकुमार शर्मा र रुपनी गाउँपालिका–३ का १८ वर्षीय विक्रमकुमार मण्डल पक्राउ परेका छन्। उनीहरूको साथबाट डाइजापाम, फेनेरगन, सिरिन्ज, करेक्स बोतल र २५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी अभद्र व्यवहार मुद्दामा हनुमाननगर कंकालिनी नगरपालिका–२ का २२ वर्षीय शिवनारायण दास पक्राउ परेका छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा होहल्ला र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ।
सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

