काठमाडौं,२३ चैत । नयाँ पुस्ताको नेतृत्व र अनुभवी राजनीतिज्ञबीच सहकार्यको सन्देश दिने एक महत्वपूर्ण भेटवार्ता सोमबार प्रधानमन्त्री निवासमा देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लुम्बिनी प्रदेशबाट निर्वाचित सांसदहरूसँग गरेको छलफलमा पूर्वअर्थमन्त्री वर्षमान पुन ले देशको दीर्घकालीन विकासका लागि रणनीतिक एजेण्डाहरू प्रस्तुत गरेका छन्।
छलफलमा पुनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि भारतसँग हवाई रुटबारे कूटनीतिक पहल गर्नुपर्ने र विमानस्थलमा श्रम डेस्क स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए। यस्तै, उनले दाङको कोइलाबासदेखि रोल्पा–रुकुम हुँदै डोल्पासम्म जोड्ने शहीद मार्ग तथा रोल्पाको माडी बहुउद्देश्यीय जलविद्युत आयोजना जस्ता राष्ट्रिय गौरवका परियोजनामा बजेट सुनिश्चित गर्न आग्रह गरे।
आर्थिक विकासलाई गति दिन पुनले ‘गण्डकी आर्थिक त्रिभुज’ परियोजनाको अवधारणा पनि प्रस्तुत गरे, जसमा भरतपुर, बुटवल र पोखरालाई केन्द्र बनाएर नयाँ आर्थिक हब निर्माण गर्ने योजना रहेको छ। नयाँ पुस्ताको नेतृत्वले देशको शासन सम्हालिरहेको वर्तमान सन्दर्भमा पुनले अनुभव र दीर्घकालीन सोचको महत्त्वलाई जोड दिएका छन्।
यो भेटले नयाँ नेतृत्वलाई ठूला परियोजना र रणनीतिक सोचतर्फ उन्मुख गराउँदै अनुभव र ऊर्जा बीचको सन्तुलनबाट विकासको गति बढाउन सकिने संकेत दिएको छ।

