बैंकमा पनि दुई दिन बिदा लागू, समय ९ देखि ४ बजे

spot_img

काठमाडौं,२३ चैत । अब बैंक तथा वित्तीय संस्थाहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन्। सार्वजनिक कार्यालय, विद्यालय तथा कलेजसँगै बैंकिङ क्षेत्रमा पनि शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू गरिएको हो।

पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सरकारले आइतबारदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सोही निर्णयअनुसार अब सातामा पाँच दिन मात्र कार्यालय सञ्चालन हुनेछन्।

यससँगै सरकारी कार्यालयहरूको काम गर्ने समय पनि परिमार्जन गरिएको छ। सोमबारदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भइरहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरूको हकमा भने काम गर्ने समय बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म निर्धारण गरिएको छ। अब बैंकहरू सोमबारदेखि शुक्रबारसम्म मात्रै खुल्नेछन्।

यसअघि बैंकहरू बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नेपाल राष्ट्र बैंक ले २२ चैतदेखि नै नयाँ समयअनुसार बैंकिङ सेवा प्रवाह गर्न निर्देशन दिइसकेको थियो। सोही व्यवस्थाअनुसार अहिले देशभरका बैंक तथा वित्तीय संस्थाहरूले नयाँ समयतालिका लागू गरेका छन्।

यस निर्णयले सेवाग्राहीलाई समय व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ भने ऊर्जा बचतमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय