काठमाडौँ,२३ चैत । कृषि तथा पशुपंक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी ले जलवायु परिवर्तन अब केवल वातावरणीय समस्या नभई गम्भीर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएकी छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनले मानव अधिकारदेखि समग्र विकास प्रक्रियासम्म प्रत्यक्ष असर पारिरहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराइन्। नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा अत्यन्त न्यून योगदान दिए पनि यसको प्रभाव भने सबैभन्दा बढी भोग्नुपरेको उनले उल्लेख गरिन्।
उनका अनुसार हिमनदीहरूको तीव्र पग्लिने क्रम, बेमौसमी वर्षा, बाढी–पहिरो र खडेरीजस्ता विपत्तिहरू बढ्दै गएका छन्। यी घटनाले जनजीवन मात्र होइन, देशको विकास यात्रामा समेत गम्भीर अवरोध सिर्जना गरिरहेको उनको भनाइ छ। विशेषगरी कृषि क्षेत्र र वातावरणीय सुरक्षामा ठूलो चुनौती थपिएको उनले स्पष्ट पारिन्।
मन्त्री चौधरीले जलवायु संकटको सामना गर्न नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी समयमै पेश गरिसकेको जानकारी दिइन्। तर, कागजमा नीति बनाउनु मात्रै पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको उनको जोड थियो।
उनले अबको ध्यान र लगानी एनडिसीको सफल कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने बताउँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको धारणा राखिन्। साथै निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमको सक्रिय सहकार्यबिना जलवायु परिवर्तनको असर न्यूनीकरण सम्भव नहुने उनले उल्लेख गरिन्।
वन तथा जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेका उपलब्धिहरूको अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा भइरहेको उनले बताइन्। वातावरणीय सन्तुलन कायम राख्ने प्रयासले विश्वलाई सकारात्मक सन्देश दिएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनसँग जुध्न सबै पक्ष जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिइन्।

