काठमाडौँ,२३ चैत । नेकपा एमाले का सांसद ऐनबहादुर महर ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई बिना सर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको कदमलाई “प्रतिशोध र पूर्वाग्रह प्रेरित” भन्दै आलोचना गरे। महरले ओली र लेखकको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक भएको दाबी गर्दै लोकतन्त्रमा यस्तो अभ्यास स्वीकार्य नहुने बताए।
उनले विधिको शासन सुदृढ गर्न सबै नागरिकलाई समान व्यवहार हुनुपर्नेमा जोड दिए। “लोकतान्त्रिक व्यवस्थामा पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान हुँदैन,” उनले संसदमा भने।
त्यसैगरी, सरकारले अघि सारेको शासकीय सुधार कार्यसूचीप्रति पनि उनले असहमति जनाए। विशेषगरी विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने निर्णय तत्काल फिर्ता लिन माग गर्दै उनले विद्यार्थी आन्दोलनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधारस्तम्भको रूपमा उल्लेख गरे।
उनको भनाइमा, यस्ता निर्णयहरूले लोकतान्त्रिक अभ्यास कमजोर पार्ने खतरा रहन्छ, त्यसैले सरकार सचेत हुन आवश्यक छ।

