जनकपुर,२३ चैत । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले सोमबार महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री महतोले सीमावर्ती क्षेत्रको शान्ति–सुरक्षा अवस्था, विकास निर्माणका गतिविधि तथा स्थानीय समस्याबारे जानकारी लिएका थिए। विशेषगरी निर्माणाधीन तर अदालतको आदेशपछि रोकिएको नाला निर्माण आयोजनाबारे उनले चासो व्यक्त गरे।
स्थानीय बासिन्दा बजरंजी प्रसाद साह र शिवा साहले आफ्नो निजी जग्गामा नाला निर्माण गर्न लागिएको भन्दै उच्च अदालत जनकपुर मा रिट दर्ता गरेपछि उक्त काम हाल स्थगित छ।
मन्त्री महतोले विकासका काम अवरुद्ध हुनु उचित नभएको उल्लेख गर्दै विवादित पक्षहरूबीच संवादमार्फत समाधान खोज्न जोड दिएका छन्। उनले सम्बन्धित निकायलाई जग्गाको यथार्थ अवस्था स्पष्ट पार्दै कसैलाई अन्याय नपर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
निरीक्षणपछि मन्त्री महतोले मटिहानीस्थित लक्ष्मी नारायण मठ मा दर्शनसमेत गरेका थिए। सो अवसरमा उनलाई मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल र मठका उत्तराधिकारी महन्थ डा. रविन्द्र दास वैष्णवले स्वागत गरेका थिए।
मन्त्रीको निरीक्षण टोलीमा प्रदेश सभा सदस्य सुनिता कुमारी साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी रहेका थिए।

