नेपालको एकमात्र रेल सेवा घाटामा, आर्थिक संकट र व्यवस्थापकीय कमजोरी प्रमुख चुनौती

spot_img

जनकपुर,२४ चैत । नेपालमा सञ्चालनमा रहेको एकमात्र रेल सेवा लगातार आर्थिक घाटा, व्यवस्थापकीय कमजोरी र जनशक्ति अभावका कारण संकटमा परेको छ। यात्री सेवा केही सहज भए पनि कम्पनीको वित्तीय अवस्था भने दिनप्रतिदिन कमजोर बन्दै गएको छ।

भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको रेल सेवा स्थानीय यात्रुका लागि उपयोगी बने पनि आर्थिक रूपमा भने टिकाउ देखिएको छैन।

आर्थिक तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा नेपाल रेल्वे कम्पनीले करिब १९ करोड रुपैयाँ आम्दानी गर्दा ६७ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ। यस अवधिमा मात्रै कम्पनीले करिब ४८ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ।

रेल सेवा सुरु भएदेखि नै खर्च आम्दानीभन्दा धेरै रहँदै आएको देखिन्छ। मासिक रूपमा पनि आम्दानी करिब ७५ लाख रुपैयाँ मात्र हुँदा खर्च १ करोड २९ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

कम्पनीको घाटामा विदेशी प्राविधिक कर्मचारीको ठूलो खर्च, सीमित आम्दानी स्रोत, र संरचनागत कमजोरी मुख्य कारणका रूपमा देखिएका छन्। हाल कार्यरत भारतीय प्राविधिक टोलीलाई मासिक ठूलो रकम भुक्तानी गर्नुपरेको छ, जसले सञ्चालन खर्च बढाएको छ।

त्यस्तै, स्थायी नेपाली जनशक्ति अभाव, करार कर्मचारीमा निर्भरता, प्राविधिक तालिमको कमी र प्रशासनिक ढिलासुस्तीले पनि सेवा सञ्चालनमा चुनौती थपेको छ।

रेल कम्पनी लामो समयदेखि महाप्रबन्धकविहीन अवस्थामा रहँदा निर्णय प्रक्रिया र सुधारका कामहरू पनि प्रभावित भएका छन्।

आर्थिक दायित्व बढ्दै जाँदा कम्पनीको कुल ऋण करिब ७९ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जसले रेल सेवामाथि थप दबाब सिर्जना गरेको छ।

यसैबीच, कम्पनीले रक्सौलको जग्गा भाडामा लगाउने, रेल म्युजियम स्थापना गर्ने तथा मालवाहक सेवा विस्तार गर्ने जस्ता विकल्पमार्फत आम्दानी बढाउने प्रयास गरिरहेको छ।

विशेषज्ञ तथा स्थानीय सरोकारवालाहरूले यात्री सेवासँगै मालसामान ढुवानी, पर्यटन प्रवर्द्धन र व्यावसायिक मोडेल विस्तार नगरेसम्म रेल सेवा दीर्घकालीन रूपमा नाफामा जान कठिन हुने बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय