बीरगन्ज,२४ चैत । पूर्वमिस नेपाल उषा खड्कीले दिएको उजुरीपछि उनका पूर्वपति जीपी तिमल्सिना पक्राउ परेका छन्।
उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा तिमल्सिनाविरुद्ध अभद्र व्यवहार तथा घरेलु हिंसाको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। सोही आधारमा प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको जनाएको छ।
भक्तपुर प्रहरी परिसरका सूचना अधिकारीका अनुसार उजुरीपछि अनुसन्धानका लागि तिमल्सिनालाई नियन्त्रणमा लिइएको हो।
उषा खड्कीले गत १७ चैतमा सामाजिक सञ्जालमार्फत आफूलाई सुरक्षा आवश्यक रहेको भन्दै न्यायको माग गरेकी थिइन्। उनीहरूको सम्बन्ध २०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतबाट औपचारिक रूपमा अन्त्य (सम्बन्धविच्छेद) भएको थियो।
तर सम्बन्धविच्छेदपछि पनि दुवै जना काठमाडौंको लोकन्थलीस्थित एउटै घरमा बस्दै आएको बताइएको छ। उषाले सोही घरको आफ्नो हिस्सामा बस्दै आएकी छन् भने तेस्रो तल्लामा पूर्वपति तिमल्सिना र उनकी दोस्रो श्रीमती बस्ने गरेको उल्लेख छ।
उषाले पटक–पटक घरको स्वामित्व र बसोबासको विषयलाई लिएर आफूलाई मानसिक तनाव र दुर्व्यवहार हुने गरेको आरोप लगाएकी छिन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

