देशभर वर्षा र हिमपातको सम्भावना

spot_img

काठमाडौं,२५ चैत । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसममा उल्लेख्य बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न प्रदेशमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने बागमती र कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा समेत मौसम प्रभावित हुने देखिएको छ। यी क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेशसहित तराईका केही क्षेत्रमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी पहाडी र हिमाली भूभागका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

महाशाखाले हावाहुरीका कारण दैनिक जनजीवन, कृषि र यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ। आज रातिसमेत देशभर बदली कायम रहने र धेरै स्थानमा वर्षा तथा हिमपातको क्रम जारी रहने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय