जनकपुर,२५ चैत । मधेस प्रदेश सरकारका अर्थमन्त्री महेशप्रसाद यादव ले पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको संरक्षणप्रति सरकार सधैँ सकारात्मक रहेको बताएका छन्।
ढल्केवरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई मजबुत बनाउन स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता अनिवार्य रहेको उल्लेख गरे। पत्रकारहरूले भोगिरहेका समस्या समाधानका लागि सरकार गम्भीर रहेको जनाउँदै उनले आवश्यक नीतिगत र संरचनागत सुधारमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री यादवले पत्रकारहरूको पेसागत सुरक्षा, क्षमता अभिवृद्धि र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको स्पष्ट पार्दै सञ्चार क्षेत्र बलियो भए मात्र सुशासन र पारदर्शिता कायम गर्न सकिने बताए। साथै, सूचना प्रवाहलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमसँग सहकार्य बढाइने पनि उनले बताए।
कार्यक्रममा सहभागी पत्रकारहरूले उठाएका समस्या र सुझावहरूलाई कार्यान्वयनमा लैजान सकारात्मक पहल गर्ने प्रतिबद्धता समेत मन्त्री यादवले व्यक्त गरे।

