सडक सुरक्षा सुधार गर्न सरकारसँग सांसद मियाँको आग्रह

spot_img

काठमाडौं,२५  चैत । राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद समिना मियाँ ले सडक दुर्घटनाबाट हुने मानवीय क्षति रोक्न तत्काल सुधारका कदम चाल्न सरकारसँग माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले प्रत्येक वर्ष हजारौं नागरिक सडक दुर्घटनामा ज्यान गुमाइरहेको उल्लेख गर्दै यसलाई गम्भीर राष्ट्रिय समस्या भएको बताइन्।

जलेश्वर–बर्दिबास सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एसईई परीक्षा दिएर घर फर्कँदै गरेका तीन जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले यस्तो घटना प्रणालीगत कमजोरीको परिणाम भएको बताइन्।

सांसद मियाँले जोखिमयुक्त सडकहरूमा स्पिड नियन्त्रण, साइनबोर्ड, सडक मर्मत तथा पर्याप्त प्रकाशको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। साथै, ट्राफिक नियम उल्लङ्घन गर्ने, लाइसेन्स बिना सवारी चलाउने र ओभरस्पिड गर्नेविरुद्ध कडा कारबाही गर्नुपर्ने माग गरिन्।

उनले विद्यालयस्तरदेखि नै सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न, दुर्घटनापछि छिटो उद्धार र उपचारका लागि एम्बुलेन्स तथा ट्रमा सेवा सुदृढ बनाउन तथा पीडित परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरिन्।

सांसद मियाँले समयमै सुधार नगरे यस्ता दुःखद घटना दोहोरिरहने चेतावनी दिँदै सबैलाई जिम्मेवार बन्न आह्वान गरेकी छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय