काठमाडौं,२५ चैत । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाए पनि विद्युतीय सवारीसाधन (EV) का हकमा भने नयाँ दर लागू नहुने स्पष्ट गरिएको छ।
यातायात व्यवस्था विभाग ले बुधबार जारी गरेको जानकारीअनुसार हालै गरिएको करिब १७ प्रतिशत भाडा वृद्धि इन्धनबाट सञ्चालन हुने सवारीसाधनमा मात्र लागू हुनेछ।
विभागका अनुसार इन्धनको मूल्यमा भएको वृद्धि र अन्य आर्थिक सूचकहरूको विश्लेषणपछि भाडा समायोजन गरिएको हो। कुल १३ वटा सूचकका आधारमा गरिएको यो निर्णयले डिजेल–पेट्रोलमा आधारित सवारीलाई मात्र असर गर्नेछ।
हाल लागू गरिएको नयाँ भाडादर अन्तरप्रदेश चल्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा लागू हुनेछ। तर, छोटो दूरीका सवारी—जस्तै एकै सहर वा प्रदेशभित्र सञ्चालन हुने—का लागि भने सम्बन्धित प्रदेश सरकारले भाडादर निर्धारण गर्ने व्यवस्था यथावत् रहेको विभागले जनाएको छ।
यस निर्णयसँगै विद्युतीय सवारी प्रयोगकर्ताहरू भने तत्काल भाडा वृद्धिको प्रभावबाट जोगिने भएका छन्।

