वीरगंज, २६ चैत – देशको परिवर्तित राजनीतिक परिस्थितिमा समेत पर्साको ग्रामीण नाकाबाट तस्करी रोकिएको छैन। जिल्ला सदरमुकाम छेउका सीमाना नाकाहरूमा तस्करी निषेध रहेको देखाएर ग्रामीण इलाकाका सीमावर्ती क्षेत्रहरूमा तस्करी खुलाइएको स्रोतको दाबी छ।
दिनभरजस्तो सीमामा कडाइ गरिएको देखाउनका लागि आम सर्वसाधारणहरू घरायसी प्रयोजनका लागि सामान किनमेल गरेर आउँदा चेकजाँचको नाममा सास्ती दिने काम भइरहेको तथा राति र बिहानको समयमा सीमाना नाका अहिले पनि तस्करहरूको रजगज रहेको स्रोतले जनाएको छ।
पर्साको भिस्वा–सिकटा नाकामा अहिले पनि तस्करी नरोकिएको स्थानीय व्यापारीहरूले बताएका छन्। उनीहरूको अनुसार भिस्वा–सिकटा नाका सदाबहार नाका रहेको तथा किशोर जैसवालको तस्करी कहिल्यै पनि नरोकिएको स्थानीय साना व्यापारीहरूको भनाइ छ। ठूलो परिमाणमा तस्करी पछिल्लो समयमा निरुत्साहित भएको भएपनि पोके तस्करी कहिले पनि भिस्वा तथा अन्य ग्रामिण नाकामा नरोकिएको एक जना व्यासायीले बताए ।
जानकी टोला, धोरे, अमरपट्टी, सवैठवा लगायतका नाकामा पनि रातिको समयमा तस्करी भइरहेको बताइएको छ। भिस्वा नाकाबाट पपकर्न, चाइनिज किसमिस, ओखर, मगज लगायतका सामान भारततर्फ तथा कपडा, सटिङ–सुटिङ, टिना तेल, फर्चुन, किराना आइटम, इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामानहरू नेपालतर्फ भित्र्याउने काम भइरहेको बताइएको छ।
तस्करी सञ्जालमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका अधिकृतहरूको सहभागिता रहेको स्रोतको दाबी छ। सरकारले हरेक क्षेत्रमा कडाइ गरेका भए पनि सीमाना नाकामा हुने अवैध व्यापारमा निगरानी गर्न नसकेको गुनासो सीमाक्षेत्रमा रहेका नेपाली बजारका व्यापारीहरूको भनाइ छ।
भारतबाट चोर बाटोबाट तस्करीका सामानहरू नेपाल बजारमा पुगेपछि स्थानीय बजारमा बिक्री वितरण तथा व्यापार सुकेको उनीहरूको भनाइ छ।

