सिराहा,२६ चैत । सिराहा नगरपालिका–१५ बुधौराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन युवकलाई पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले शङ्कास्पद मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा धनगढीमाई–३ का १९ वर्षीय अभिषेक मुखिया, गोलबजार–१२ का १९ वर्षीय अभिषेक मुखिया र २१ वर्षीय अरविन सिंह रहेका छन्। उनीहरू सवार मोटरसाइकलको इन्धन ट्याङ्कीको बिर्कोभित्र लुकाएर राखिएको अवस्थामा ब्राउन सुगर फेला परेको थियो।
बरामद गरिएको पदार्थको तौल प्लास्टिकसहित ४ ग्राम ६० मिलिग्राम र शुद्ध तौल २ ग्राम ५०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहा मा राखेर थप अनुसन्धान भइरहेको छ। साथै, सिराहा जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिएका छन्।

