सर्लाही,२७ चैत । सर्लाहीका विभिन्न सरकारी कार्यालयहरूमा बिचौलियाको गतिविधि अझै नियन्त्रणमा आउन सकेको छैन। सरकारले भूमि व्यवस्थापनसँग सम्बन्धित निकायहरूमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न निर्देशन दिए पनि व्यवहारमा यसको प्रभाव कमजोर देखिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत, नापी लगायत कार्यालयमा बिचौलिया निषेध गर्ने स्पष्ट निर्देशन जारी गरेको थियो। तर सर्लाहीका केही कार्यालयहरूमा उक्त निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो बढ्दो छ।
गत आइतबार मात्रै मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट प्रहरीले ९ जना बिचौलियालाई पक्राउ गरेको थियो। उनीहरूले सेवाग्राहीको काम छिटो गराइदिने बहानामा रकम असुल्ने गरेको आरोप छ।
बरहथवाको नापी कार्यालय क्षेत्रमा पनि यस्तै समस्या देखिएको छ। लेखापढी व्यवसायीको आवरणमा बसेका केही व्यक्तिहरूले सेवाग्राहीसँग अतिरिक्त रकम लिने गरेको स्थानीयले बताएका छन्। सामान्यतया २ हजारदेखि २५ सय रुपैयाँसम्म असुली हुने गरेको गुनासो छ।
स्थानीयका अनुसार केही अवस्थामा कार्यालयका कर्मचारी वा जिम्मेवार व्यक्तिहरूको मौन समर्थनमा समेत यस्तो गतिविधि हुने गरेको आरोप छ, जसले सेवाग्राहीलाई झनै मारमा पारिरहेको छ।
जिल्लाका अन्य यातायात कार्यालय र ट्रायल सेन्टरहरूमा समेत बिचौलियाको प्रभाव देखिएको छ। यसले निःशुल्क वा न्यून शुल्कमा उपलब्ध हुनुपर्ने सेवाका लागि सर्वसाधारणलाई अतिरिक्त खर्च गर्न बाध्य बनाएको भन्दै व्यापक असन्तोष बढेको छ।
सरकारले बारम्बार निर्देशन जारी गरे पनि प्रभावकारी कार्यान्वयन नहुँदा बिचौलिया नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।

