आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: राष्ट्रपति पौडेल

spot_img

काठमाडौँ,२७ चैत । राष्ट्रपति रामचन्द्र पौडेल ले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई राष्ट्र निर्माणको महत्वपूर्ण साझेदार र देशको आर्थिक इन्जिनका रूपमा हेर्नुपर्ने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र सबल भए मात्र देशको समग्र अर्थतन्त्र पनि सुदृढ हुने धारणा व्यक्त गरे।

उनले कोभिड महामारी, आपूर्ति शृङ्खलामा आएको अवरोध, उत्पादन र व्यापारमा आएको गिरावट तथा पछिल्लो आर्थिक व्यवस्थापनका चुनौतीहरूले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको उल्लेख गर्दै यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ मजबुत हुनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले नेपाल चेम्बर अफ कमर्सले लगानी प्रवर्द्धन, उद्योग–व्यवसाय विस्तार र आर्थिक नीतिमा दिएको सुझावको प्रशंसा गर्दै नीति निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए।

देशको भविष्य युवापुस्तामा निर्भर रहेको उल्लेख गर्दै उनले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए। उनले डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिमा ध्यान दिनुपर्ने बताए।

राजनीतिक स्थिरतालाई आर्थिक विकासको आधार बताउँदै उनले स्पष्ट नीति, दीर्घकालीन योजना र स्थिर सरकारले मात्र औद्योगिक विकास र रोजगारी सिर्जनालाई गति दिन सक्ने स्पष्ट पारे।

सङ्घीय लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन सबै तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्य र निजी क्षेत्र मिलेर अघि बढे मात्र देश समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय