पर्सामा विद्यालय परिसरबाट बाटो निकाल्ने विवाद, झडपमा ५ घाइते

spot_img

बीरगन्ज,२७ चैत । पर्सामा विद्यालय परिसरभित्र बाटो निकाल्ने विषयमा विवाद चर्किँदा झडप भएको छ, जसमा पाँच जना घाइते भएका छन्।

छिपहरमाई गाउँपालिका–२ टिहुकीस्थित श्री ने.रा.प्रा.वि. टिहुकीको बाउन्ड्रीभित्रबाट बाटो निकाल्ने प्रयासपछि स्थानीयबीच विवाद सुरु भएको हो। विवादले उग्र रूप लिएपछि कुटाकुट हुँदा दुई पुरुष र तीन महिला गरी पाँच जना घाइते भएका छन्।

स्थानीयका अनुसार खेतसँग जोडिएको विद्यालयको जग्गाभित्रबाट बाटो निकाल्ने विषयमा असहमति भएपछि विवाद चर्किएको थियो। विद्यालयको जग्गा प्रयोगको विषयमा प्रश्न उठेपछि स्थिति तनावग्रस्त बनेको बताइएको छ।

घटनामा संलग्न दुवै पक्षबीच भनाभनपछि कुटपिटको अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्। झडपका क्रममा बडकी टिहुकीका जुवेद आलम, दिपी यादव, खुशबु खातुन, बुचि खातुन र जमिला खातुन घाइते भएका छन्। जुवेद आलम र दिपी यादवको टाउकोमा गम्भीर चोट लागेको छ भने जमिला खातुन गर्भवती रहेको जनाइएको छ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि नारायणी अस्पताल लगिएको थियो भने थप उपचारका लागि वीरगञ्जस्थित स्पर्श मल्टिस्पेसियलिटी अस्पतालमा रिफर गरिएको छ।

घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा अवस्था सामान्य बनाउन प्रहरी परिचालन गरिएको बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय