बीरगन्ज,२७ चैत । लामो समयदेखि रोकिएको पुल निर्माणपछि तिलावे नदी मा बेलिब्रिज निर्माण कार्य अघि बढाइएको छ। बीरगन्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमाना जोड्ने यस स्थानमा पुल भत्किएपछि झण्डै डेढ वर्षदेखि स्थानीयवासीले आवागमनमा समस्या भोग्दै आएका थिए।
पुलको पिलर क्षतिग्रस्त भएपछि गत वर्ष बर्सातका कारण निर्माण कार्य रोकिएको थियो। त्यसपछि नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाएको हो।
कार्यालय प्रमुख मनोजप्रसाद पटेल का अनुसार करिब ४८ मिटर लामो बेलिब्रिज निर्माणका लागि गत मंसिरमै ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण कार्य २०८३ वैशाख मसान्तभित्र सम्पन्न गर्नुपर्ने छ।
यस परियोजनाका लागि जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत कार्यालयले ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रालिसँग करिब २ करोड ४६ लाख ६० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हो।
निर्माण कम्पनीका इन्जिनियर मनोजकुमार मण्डलका अनुसार हालसम्म बेलिब्रिजको करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको छ। उनले तोकिएको समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
हाल अस्थायी डाइभर्सनमार्फत सवारीसाधन सञ्चालन भइरहेको छ भने स्थानीयले स्थायी पुल नहुँदा लामो समयदेखि सास्ती भोग्दै आएका छन्।

