महानिर्देशक ढकाल मन्त्रालय तानिए, औषधि मूल्यवृद्धिमा छानबिन सुरु

spot_img

काठमाडौँ,२७ चैत । औषधिको मूल्यवृद्धि विवाद चर्किएपछि सरकारले छानबिन प्रक्रिया अघि बढाएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल लाई कारबाहीस्वरूप स्वास्थ्य मन्त्रालयमा तानिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता को निर्णयअनुसार ढकाललाई मन्त्रालयमा तानिएको हो। यससँगै औषधिको मूल्यवृद्धि विषयमा छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि स्वास्थ्य सचिव विकाश देवकोटा लाई तीन सदस्यीय विज्ञसहित छानबिन समिति गठन गर्न भनिएको छ। साथै, सात दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न पनि निर्देशन दिइएको स्रोतले जनाएको छ।

छानबिनका क्रममा औषधिको मूल्य कसरी निर्धारण गरिएको हो, अनियमितता भए–नभएको र संलग्न व्यक्तिहरूको पहिचान गर्नुपर्नेछ।

यस विषयले प्रतिनिधिसभामा समेत चर्चा पाएको छ। बैठकमा राजीव खत्री ले औषधिको अनधिकृत मूल्यवृद्धिबारे प्रश्न उठाउँदै ठूलो आर्थिक अनियमितता भएको हुनसक्ने आशंका व्यक्त गरेका थिए।

महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाउँदै औषधि व्यवस्थापनमा गम्भीर त्रुटि र अनियमितता भएको दाबीसमेत गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय