काठमाडौं,२८ चैत । काठमाडौंस्थित वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलीले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार मस्राङ्गीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएका थिए। पक्राउका क्रममा उनको साथबाट स्रोत नखुलेको थप ७७ हजार ६०० रुपैयाँसमेत बरामद भएको छ।
त्यसैगरी, अनुसन्धानका क्रममा तीन थान मोबाइलसमेत जफत गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।




