जनकपुर,२७ वैशाख । बालविवाह अन्त्य गर्ने उद्देश्यसहित जनकपुरधाममा सरोकारवालाहरूले ९ बुँदे प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय बालअधिकार परिषद्, जस्ट राइट फर चिल्ड्रन इन नेपाल र जनजागरण युवा क्लब बाराको संयुक्त आयोजनामा भएको कार्यक्रममा “बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२” को प्रभावकारी कार्यान्वयनबारे छलफल गरिएको थियो।
छलफलपछि संघीय, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरूले बालविवाहविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, नीति तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राख्ने र बालबालिका सम्बन्धी ऐन २०७५ को प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै, बालविवाह अन्त्यका लागि आवश्यक बजेट विनियोजन गर्ने, एकद्वार प्रणालीमार्फत समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने र घरपरिवारदेखि समुदायस्तरसम्म व्यापक जनचेतना अभियान चलाउने सहमति भएको छ।
प्रतिबद्धतामा बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहारलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने तथा स्थानीय तहलाई बालविवाहमुक्त घोषणा गर्ने पहल गर्ने विषय पनि समावेश गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेलले बालविवाह अन्त्यका लागि सबै पक्ष इमान्दार र जिम्मेवार हुनुपर्नेमा जोड दिए।
कार्यक्रम जनजागरण युवा क्लब बाराका कार्यबाहक अध्यक्ष राजदेव साहको अध्यक्षतामा सम्पन्न भएको हो।




