अख्तियार स्रोतका अनुसार विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईविरुद्ध चलाइएको भ्रष्टाचार मुद्दाभन्दा माथिल्लो तहसम्म पुग्ने ठोस प्रमाण नदेखिएपछि अनुसन्धान टुंग्याइएको हो। “अनुसन्धानका क्रममा आरोप पुष्टि हुने आधार भेटिएन,” अख्तियार निकट स्रोतले जनाएको छ।
भिजिट भिसा प्रकरण गत वर्ष सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि सार्वजनिक चर्चामा आएको थियो। विभिन्न देशमा नेपाली नागरिकलाई भिजिट भिसामार्फत पठाउँदा घुस असुली गरिएको आरोपमा अख्तियारले भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
त्यतिबेला अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडी, सहसचिव छविराज रिजाललगायतमाथि थप अनुसन्धान भइरहेको उल्लेख गरिएको थियो। भट्टराईको डायरी, कल डिटेल रेकर्ड तथा अन्य कागजातको अध्ययनका क्रममा गृहमन्त्रीका निजी तथा स्वकीय सचिवहरूसँग अस्वाभाविक सम्पर्क देखिएको दाबी पनि गरिएको थियो।
तर पछिल्लो अनुसन्धानमा पूर्वगृहमन्त्री लेखक वा गृहसचिव दुवाडीले कुनै आर्थिक लाभ लिएको वा घुस लेनदेनमा संलग्न रहेको पुष्टि हुने प्रमाण नपाइएको अख्तियारको निष्कर्ष छ। त्यसपछि उनीहरूमाथि मुद्दा नचलाउने निर्णय भएको हो।
अख्तियारले भने भिजिट भिसा प्रकरणमा संलग्न अन्य व्यक्तिमाथिको अनुसन्धान र कानुनी प्रक्रिया भने अघि बढिरहेको जनाएको छ।