बीरगन्ज,२७ वैशाख । पर्सा जिल्लामा हज यात्रामा प्रस्थान गर्न लागेका मुस्लिम श्रद्धालुहरूलाई जेन जी पर्साले शुभकामना सहित सम्मानपूर्वक बिदाइ गरेको छ।
जेन जी पर्साले बीरगन्ज महानगरपालिका–२ स्थित छपकैया चौकमा विशेष कार्यक्रम आयोजना गर्दै हज यात्रुहरूलाई बिदाइ गरेको हो। कार्यक्रममा यात्रामा जाने श्रद्धालुहरूलाई फूलमाला र शुभकामनासहित सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै जेन जी पर्साका संयोजक महादेव प्रसाद कुर्मी ले हज यात्राको सफलताको कामना गर्दै विश्वमा जारी द्वन्द्व, हिंसा र अशान्ति अन्त्यका लागि यात्राका क्रममा शान्ति र मानवताको पक्षमा प्रार्थना गर्न आग्रह गरे। उनले धार्मिक यात्राले समाजमा सद्भाव र सकारात्मक सन्देश फैलाउने बताए।
त्यस्तै प्रमुख सल्लाहकार बिरेन्द्र कण्ठ ले हज यात्रालाई धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। उनले सबै धर्मबीच आपसी सम्मान र सद्भाव मजबुत बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा विभिन्न वडाका जेन जी प्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले हज यात्रुहरूको सुरक्षित र सफल यात्राको कामना गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र विश्व शान्तिको सन्देश फैलाउनुपर्ने धारणा व्यक्त गरेका थिए।




