काठमाडौँ,२७ वैशाख । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूबाट २६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
कार्यालयका अनुसार यस अवधिमा कुल रु २६ करोड १९ लाख ३१ हजार १७७ राजस्व सङ्कलन भएको छ। साथै, ट्राफिक नियम उल्लङ्घन गर्ने ३ लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले नियमित चेकजाँच, सचेतनामूलक अभियान र कडाइका साथ नियम कार्यान्वयनका कारण राजस्व संकलन र कारबाही दुवै वृद्धि भएको बताए।
उनका अनुसार एउटै चालकले पटक–पटक नियम उल्लङ्घन गरेमा थप कडाइ गरिएको छ। पाँच पटकभन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरिएको छ, जसअनुसार हालसम्म ३१ जनाको लाइसेन्स निलम्बन प्रक्रिया अघि बढाइएको छ।
यस अवधिमा उपत्यकाभित्र ४,६३१ सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। ती दुर्घटनामा १७४ जनाको मृत्यु भएको छ भने १८६ जना गम्भीर घाइते भएका छन्। थप ४,९२७ जना सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनाका प्रमुख कारणहरूमा तीव्र गति, मादक पदार्थ सेवन, लेन मिच्ने र रातो बत्ती उल्लङ्घन प्रमुख रूपमा देखिएका छन्।
ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार विभिन्न अपराधमा चालकहरूलाई कारबाही गरिएको छ, जसमा मापसेमा २३,०४८ जना, रातो बत्ती उल्लङ्घनमा २८,३०८ जना, तीव्र गतिमा २३,७७२ जना, लेन क्रसमा २३,९८४ जना र लाइसेन्स बिना सवारी चलाउने १०,४८९ जना रहेका छन्।
प्रहरीले ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना र जनधनको क्षति बढ्दै गएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ।




