काठमाडौं,२८ चैत । सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कडाइ गर्दै पछिल्लो २४ घण्टामा १,७१९ जनालाई कारबाही गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ११३ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १०२ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जनामाथि कारबाही गरिएको छ।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १७९, सवारीको यान्त्रिक अवस्था ठीक नभएका ३५ र असुरक्षित रूपमा सार्वजनिक सवारी सञ्चालन गर्ने ३८ चालक पनि कारबाहीमा परेका छन्। अनावश्यक हर्न बजाउने ४६, जथाभावी यात्रु चढाउने–ओराल्ने २० र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १,०९३ जनालाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक नियम उल्लङ्घनबाट संकलित जरिवानाबापत कुल ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व राज्यकोषमा दाखिला भएको कार्यालयले जनाएको छ।




