काठमाडौँ,२८ चैत । काठमाडौँ उपत्यकामा अब रात्रिकालीन बस सेवा सुरु हुने भएको छ। साझा यातायातले आगामी वैशाख १ गतेदेखि बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने गरी नयाँ सेवा सुरु गर्ने तयारी गरेको छ।
प्रारम्भिक चरणमा ७ वटा बसमार्फत सेवा सञ्चालन गरिनेछ। यात्रु चाप र समय व्यवस्थापनलाई ध्यानमा राख्दै करिब २० मिनेटको अन्तरालमा बस उपलब्ध हुने व्यवस्था मिलाइएको छ।
परीक्षणका क्रममा बुढानीलकण्ठ–महाराजगञ्ज–लगनखेल रुटको बसले करिब ४६ मिनेटमा दूरी पूरा गरेको तथा थानकोट–कलंकी–विमानस्थल रुटको बसले ४५ मिनेटमा सेवा पूरा गरेको देखिएको छ। सोही आधारमा नियमित तालिका तय गरिएको हो।
सेवाअन्तर्गत दुई प्रमुख रुट सञ्चालन हुनेछन्। दक्षिणतर्फ लगनखेलबाट बुढानीलकण्ठसम्म अस्पताल क्षेत्र हुँदै बस चल्नेछ भने उत्तर–दक्षिण र पूर्व–पश्चिम जोड्ने अर्को रुट थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म विस्तार हुनेछ। नयाँ सडकलाई मुख्य ट्रान्जिट बिन्दु बनाइनेछ, जहाँ यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन्।
यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा सीसीटीभी क्यामेरा जडान गरिनेछ भने महानगरले सुरक्षा व्यवस्थाका लागि नगर प्रहरी परिचालन गर्ने जनाएको छ। प्रारम्भिक तीन महिनाको परीक्षण अवधिपछि सेवा विस्तार र सुधारबारे पुनः मूल्याङ्कन गरिनेछ।
यो सेवाले विशेषगरी राति काम गर्ने श्रमिक, विद्यार्थी तथा अन्य यात्रुहरूलाई सुरक्षित र सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




