धनगढी, २८ चैत । इन्धन र निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायी संघ कैलालीले सरकारले तत्काल ‘निर्माण आपतकाल’ घोषणा गर्न माग गरेको छ।
संघले धनगढीमा पत्रकार सम्मेलन गर्दै डिजेल, पेट्रोल, बिटुमिन, सिमेन्ट र डण्डीजस्ता अत्यावश्यक सामग्रीको मूल्य पटक–पटक बढ्दा निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको जनाएको हो। इन्धनजन्य सामग्रीको मूल्य वृद्धि र बजारमा देखिएको अभावले निर्माण परियोजनाहरू प्रभावित बनेको संघको भनाइ छ।
संघका अध्यक्ष टेकबहादुर मल्लले क्रसर उद्योगमा देखिएको समस्याले पनि निर्माण क्षेत्र थप जटिल बनेको उल्लेख गर्दै समस्या समाधानमा सरकार उदासीन रहेको आरोप लगाए।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष (सुदूरपश्चिम) प्रकाश सेठीले मूल्य सूचकांकको आधारमा हुने समायोजन व्यवहारिक नभएको भन्दै वास्तविक बजार मूल्यअनुसार समायोजन प्रणाली आवश्यक रहेको बताए।
व्यवसायीहरूले निर्माण कार्य तीव्र भइरहेका बेला मूल्यवृद्धि र सामग्री अभावले ठूलो आर्थिक दबाब सिर्जना गरेको भन्दै तत्काल राहत प्याकेज र ठेक्का मूल्य समायोजनको व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्।
संघले सबै ठेक्कामा मूल्य समायोजन लागू गर्न र ‘मूल्य समायोजन मार्गदर्शिका–२’ तुरुन्त जारी गर्न पनि आग्रह गरेको छ।




