नयाँ वर्षलाई सकारात्मक सोच र स्वस्थ जीवनशैलीको सुरुवात बनाऔँ : उपराष्ट्रपति यादव

spot_img

काठमाडौँ,०१ वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादव ले नयाँ वर्षलाई केवल पात्रो परिवर्तनको दिनका रूपमा नलिई सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीको सुरुवात गर्ने अवसरका रूपमा मनाउन आग्रह गरेका छन्।

नववर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षले व्यक्तिगत जीवनमा स्थिरता र अनुशासन ल्याउने विश्वास व्यक्त गरे। साथै उनले सामाजिक सद्भाव र भ्रातृत्वलाई मजबुत बनाउन पनि नयाँ वर्ष महत्वपूर्ण कडी बन्न सक्ने बताए।

उपराष्ट्रपति यादवले देशको आर्थिक विकास, शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणजस्ता साझा चुनौतीहरू समाधान गर्न सबै नागरिक एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। विशेषगरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि दृढ संकल्प आवश्यक रहेको उनको भनाइ छ।

संविधानले परिकल्पना गरेको सुशासन, समानुपातिक प्रतिनिधित्व र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नयाँ वर्षले सबैलाई प्रेरणा दिने उनले आशा व्यक्त गरे।

सन्देशमा उनले तराई–मधेस क्षेत्रमा मनाइने सतुवाइन, जुड्शीतल र सिरुवा पावनीजस्ता मौलिक पर्वका साथै काठमाडौँ उपत्यकाको प्रसिद्ध विस्का जात्राको पनि स्मरण गरेका छन्। यस्ता पर्वहरूले नेपाली समाजमा मेलमिलाप, सद्भाव र सांस्कृतिक एकता बढाउने उल्लेख गर्दै उनले यसलाई नेपालको पहिचानसँग जोडिएको महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरे।

अन्त्यमा, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, प्रगति र राष्ट्रिय एकताको कामना गर्दै नयाँ वर्षले सकारात्मक ऊर्जा र नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय