महोत्तरी,०१ वैशाख । विक्रम संवत् २०८३ को सुरुवातसँगै मधेसको मिथिला क्षेत्रमा ‘जुडशीतल’ पर्व हर्षोल्लासका साथ मनाउन थालिएको छ। नयाँ वर्षको पहिलो दिनदेखि दुई दिनसम्म मनाइने यस पर्वले सांस्कृतिक परम्परा, कृषि जीवन र सामाजिक सद्भावलाई जोड्ने काम गर्दछ।
पर्वको पहिलो दिन ‘सतुवाइन’का रूपमा मनाइन्छ, जसमा सात प्रकारका अन्नबाट बनेको सातु र सखरको सर्वत कूलदेवतालाई अर्पण गर्ने चलन छ। त्यसपछि ब्राह्मण, साधु तथा आफन्तलाई दान दिएर सोही परिकार ग्रहण गरिन्छ। गर्मी मौसम सुरु हुने समय भएकाले शरीरलाई शीतलता दिने खाद्य परिकारहरू यस पर्वमा विशेष महत्वका साथ प्रयोग गरिन्छन्।
दोस्रो दिन ‘जुडशीतल’ मा परिवारका ज्येष्ठ सदस्यले कनिष्ठको टाउकोमा पानी छर्किँदै आरोग्यता, दीर्घायु र शीतलताको आशीर्वाद दिने परम्परा छ। यसले पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ।
संस्कृतिविद्हरूका अनुसार ‘जुड’ र ‘शीतल’ शब्द मिलेर बनेको यस पर्वको मूल सन्देश नै जीवनमा शीतलता, शान्ति र सन्तुलन ल्याउनु हो। साथै, कृषिप्रधान समाजमा वर्षभरि राम्रो वर्षा र उत्पादनको कामना गर्दै धुलो–हिलो खेल्ने परम्परा पनि यस पर्वको महत्वपूर्ण पक्ष मानिन्छ।
मिथिला क्षेत्रका साथै भारतका सीमावर्ती क्षेत्रमा समेत मनाइने यो पर्वले आपसी मेलमिलाप, सहकार्य र सांस्कृतिक एकताको सन्देश फैलाउने विश्वास गरिएको छ।




