सङ्खुवासभा,०१ वैशाख । बर्डफ्लु संक्रमण फैलिन नदिन सङ्खुवासभामा प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजारभन्दा बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मोरङबाट अवैध रूपमा ल्याइएका ४ हजार १०० चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको हो। बर्डफ्लु रोग नियन्त्रण समितिको निर्णयअनुसार ती चल्ला नष्ट गरिएको जनाइएको छ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा बर्डफ्लुको संक्रमण देखिइसकेको अवस्थामा स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको अधिकारीहरूले बताएका छन्। नष्ट गरिएका चल्लाको मूल्य करिब तीन लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ।
अनुमतिबिना प्रतिबन्धित क्षेत्रबाट पशुपन्छी ओसारपसार गरिएको पाइएपछि सम्बन्धित निकायले कडा निगरानी बढाएको छ। साथै, यस्ता गतिविधि दोहोरिए कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।




