काठमाडौं,०१ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो नाममा कुनै अचल सम्पत्ति नरहेको दाबी गरेका छन्।
उनका अनुसार वैदेशिक रोजगारीका क्रममा जोडिएको करिब ४–५ तोला सुन र बैंकमा २–४ लाख रुपैयाँ जति बचत बाहेक अन्य उल्लेखनीय सम्पत्ति आफूँग छैन। “मेरो नाममा खासै केही छैन, केही दिनमै औपचारिक रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्छु,” उनले उल्लेख गरेका छन्।
साम्पाङले पैतृक सम्पत्तिको रूपमा खोटाङस्थित केपिलासगढी गाउँपालिका–२ मा केही खेतबारी रहेको तर त्यो पनि आमाको नाममा रहेको जानकारी दिएका छन्। उक्त सम्पत्तिमा परिवारका अन्य सदस्यहरूले समेत हालसम्म अंश नलिएको उनको भनाइ छ।
जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान र नागरिकस्तरबाट उठेका चासोलाई सम्बोधन गर्दै उनले पारदर्शिताका लागि विवरण सार्वजनिक गर्न लागिएको स्पष्ट पारेका छन्।

