वीरगन्ज,०१ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका सबै सरोकारवाला पक्षका मागलाई समेटेर संवैधानिक समाधान खोज्न आग्रह गरेका छन्। नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विभाजन, प्रतिशोध र निषेधको राजनीतिले देशलाई कमजोर बनाउने चेतावनी दिएका हुन्।
उनले संवाद, सहमति र सहकार्यमार्फत सबै पक्षका आवाजलाई सम्बोधन हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन्। “राग, द्वेष र प्रतिशोधको राजनीतिबाट देश अघि बढ्दैन,” सन्देशमा उल्लेख छ।
पूर्वराजा शाहले देशको वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गर्दै शासन व्यवस्था सत्ताको प्रतिस्पर्धामा मात्र सीमित भएको बताएका छन्। साथै, युवाको ठूलो संख्यामा विदेशिने प्रवृत्ति, कमजोर अर्थतन्त्र र राष्ट्रिय पहिचानमाथिको चुनौतीप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्।
उनले राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डता जोगाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिँदै निषेधको राजनीति त्यागेर साझा सहमतिको बाटो अपनाउन आग्रह गरेका छन्। उनको सन्देशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

